नेपाली खबरिलाल
ड्यालस टेक्सास
स्वदेश तथा बिदेशमा रहेका नेपाली समुदायमा दिपावली पर्बको रौनक शुरु भएको छ । प्रवासमा रहेका नेपाली समुदायका बीचमा भाई टीका को साईतको वारेमा बिगत बर्ष झैं अन्यौल भने कायमै रहेको छ ।
अन्तराष्ट्रिय पन्चाङ्ग निर्णय समितिले एक बिज्ञप्ती जारी गरेर स्वदेश तथा बिदेशमा रहेका भाई टीकाको साईतहरु सार्बजनिक गरेको छ । समितिको निर्णय अनुसार अमेरिकामा भाई टीकाको साईत नोभेम्बर २ तारेखमा रहेको बताईएको छ ।
समितिले बिज्ञप्ती मार्फत सार्बजनिक गरेको साईत अनुसार नोभेम्बर २ तारेखका दिन न्यूयोर्कमा बिहान ११ः४४ बजे, केन्टुकीमा ११ः५७ बजे, टेक्सासमा ११ः४५ बजे, वासिङटन डिसीमा ११ः४१ बजे र क्यालिफोर्नियामा ११ः२३ मा भाई टीकाको साईत रहेको छ ।
भाई टीकाको वारेमा दुईथरी धारणा आएपछि हामीले अमेरिकाको टेक्सासमा रहेका नेपालीहरुले भाई टीका कुन दिन लगाउने भनेर जिज्ञासा राखेका थियौं ? अमेरिकामा रहेका अधिकाँश नेपाली समुदाय भने नेपालमा मनाईने नोभेम्बर ३ तारेखमा भाई टीका लगाउने पक्षमा देखिन्छन । हाम्रो घर परिवार सबै नेपालमा छन । नेपाल भन्दा अमेरिकाको समय १२ घण्टा पछाडी रहेको छ । नेपालमा भाई टीका नलगाएर कसरी पहिले अमेरिका लगाउने ? आफुले शुरु देखि नै दशैं तिहार नेपाल अनुसार मनाउँदै आएको र यस पटकको भाई टीका पनि नोभेम्बर ३ मा नै लगाउने डा. भोजबहादुर बलायर बताउँछन ।
टेक्सासको ड्यालसमा लामो समय देखि बसोवास गर्दै आएका पण्डित डा. शेखर पण्डित पनि यस बर्षको भाई टीकाको साईत नोभेम्बर ३ मा रहेको बताउनु हुन्छ ।
डा. शेखर पण्डितका अनुसार अमेरिकाको टेक्सासको लागि भाई टीकाको साईत नोभेम्बर ३ बिहान ९ः२९ देखि १०ः५० बजे सम्म लाभ उन्नती, बिहान १०ः५० देखि १२ः११ बजे सम्म अमृत सर्बोत्तम र दिउसो १ः३१ देखि २ः५२ सम्म उत्तम साईत रहेको छ । भाई टीका लगाउँदा दिदी बहिनीहरु पूर्बतर्फ र दाजुभाईहरु पश्चिम तर्फ फर्केर बस्दा लाभ हुने उहाँको सुझाव रहेको छ । तर भाई टीकाको साईतको वारेमा समाजमा बादबिवाद गर्नु भन्दा आफ्नो समय अनुकुल र स्वबिवेक प्रयोग गरि भाई टीका लगाउन नेपाली समुदायका अगुवाहरुको धारणा रहेको छ ।
