नेपाली खबरिलाल
अस्टिन, टेक्सास
यस बर्षको दिपावलीको अवसरमा टेक्सासको राजधानी अस्टिनमा आईतबार शुभकामना आदान प्रदान तथा देउसिरे कप फुटबल प्रतियोगिता आयोजना गरिएको छ । एकआपसमा तिहारको शुभकामना आदान प्रदान तथा नेपालीका बीचमाभातृत्व बिकास गर्ने उद्देश्यले ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) अस्टिनले उक्त कार्यक्रम आयोजना गरेको हो ।
अस्टिन स्थित नर्थ वेष्ट मेट्रो पोलिटियन पार्क फुलगर्भिलमा आयोजना गरिएको देउसिरे कप फुटबल प्रतियोगितामा टेक्सासका बिभिन्न स्थानबाट १४ वटा फुटवल टीमको सहभागिता रहेको थियो । प्रतियोगितामा फ्रेन्ड्स क्लब डालसले प्रतियोगिताको उपाधी जितेको ग्यान्सका उपाध्यक्ष अशोक शाहीले बताउनु भयो । यसै गरि प्रतियोगितामा डालसकै युथ फुटबल क्लबले दोस्रो स्थान प्राप्त गरेको ग्यान्सले जनाएको छ ।
प्रतियोगिताको समापन पश्चात ग्रेटर अस्टिन नेपाली समाज अस्टिनको प्राङ्गणमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष बिदुर खतिवडा र प्लाटनियम डोनर राजाराम गौतमले संयुक्त रुपमा प्रथम हुने फ्रेन्ड्स क्लब डालसलाई ५ हजार डलर र दोस्रो हुने युथ क्लब डालसलाई २ हजार डलर र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष बिदुर खतिवडाको अध्यक्षता तथा सपना रावत तथा सूर्य कार्कीको सन्चालनमा भएको उक्त कार्यक्रममा बडा दशैं तथा दिपावलीको अवसरमा शुभ कामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा चर्चित कलाकार तथा गैरआवासीय नेपाली संघ अमेरिकाकी आईसिसि सदस्य देबिका केसीले मनोरन्जन गराउनु भएको थियो भने नेपालको मध्य पश्चिम क्षेत्रमा प्रसिद्ध मयुर नाच प्रस्तुत गरिएको ग्यान्सले जनाएको छ ।

