नेपाली खबरीलाल
ड्यालस, टेक्सास
सुदूरपश्चिमका पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकको बारेमा आईतबार टेक्सासको ड्यालसमा समिक्षा गरिएको छ । समिक्षा कार्यक्रमका सहभागिहरुले पत्रकार उपाध्यायले बिगतको सशस्त्र द्वन्द्वका घट्नाक्रमलाई समेटेर प्रकाशनमा ल्याउनु भएको पुस्तक नयाँ तथा पुराना पुस्ताका लागि समेत उपयोगी सामग्रीका रुपमा बिचार ब्यक्त गरेका थिए ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा महासचिब बाबुराम दाहालको सन्चालनमा सम्पन्न पुस्तक समिक्षा कार्यक्रममा पुस्तकको बारेमा समिक्षा गर्दै बरिष्ठ पत्रकार सन्जय घिमिरेले केही समय ढिलो प्रकाशनमा आएपनि ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक सबैका लागि पठनिय दस्ताबेज तथा बिगतको सशस्त्र द्वन्द्वको बारेमा जान्न चाहने जो कोहीलाई सन्दर्भ सामग्री हुने बिचार व्यक्त गरे ।
त्यसै गरि अर्का समिक्षक तथा पत्रकार गोपाल गड्तौलाले पुस्तकको वारेमा आफ्नो बिचार व्यक्त गर्दै आफुपनि द्वन्द्वको समयमा थुप्रै घट्नाको प्रत्यक्ष साक्षी रहेको बिबरण प्रस्तुत गरेका थिए । द्वन्द्वको समयमा आफू झापा जिल्लामा सकृय पत्रकारिता गरिरहेको बताउँदै त्यतिबेलाको घट्नाक्रम सम्झिदा अहिले पनि आङ नै सिरिङ हुने गरेको पत्रकार गर्तौलाको अनुभव सुनाए । सुदूरपश्चिम नेपाली समाज टेक्साससँगको सहकार्यमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा आयोजना गरिएको कार्यक्रममा टेक्सासका नेपाली समुदायका अगुवाहरु तथा पत्रकारहरुले पुस्तकका विषयमा चर्चा परिचर्चा गरेका थिए ।
पुस्तक प्रकाशनका बिषयमा आफ्ना धारणा राख्दै लेखक तथा पत्रकार उपाध्यायले बि.सं. २०५२ देखि २०६२ सम्मको द्वन्द्वका अधिकाँश घट्नाक्रमलाई पुस्तकमा समेट्ने प्रयास गरिएको बताए । पत्रकारहरु द्वन्द्वका अधिकाँश घट्नाको प्रत्यक्ष साक्षी रहेकाले पुस्तकमा समेटिएका विषयबस्तुहरु सञ्चारकर्मीलाई आफ्नै कथा, आफ्नै व्यथा जस्तो लाग्न सक्छ, पत्रकार उपाध्यायको भनाई थियो ।
नेपालमा १० बर्षे सशस्त्र द्वन्द्वका क्रममा नेपाली पत्रकारहरु राज्य र माओवादी पक्षको निसानामा परेको र उक्त अबधिमा २६ जना नेपाली पत्रकारहरुले ज्यान गुमाएको पुस्तकमा उल्लेख छ । पुस्तकमा पत्रकार उपाध्यायले द्वन्द्वका समयमा देखेका भोगेका घट्नाक्रमलाई क्रमबद्ध रुपमा चर्चा गरेका छन ।
उक्त कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का पूर्ब अध्यक्ष भोला आचार्य, निवर्तमान अध्यक्ष विकासराज न्यौपाने, पत्रकार विनय देवकोटा, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, सामाजिक अभियन्ता बाल जोशी, भक्तबहादुर भण्डारी, डा. भोजबहादुर बलायर लगायतले समाज र पत्रकारिता क्षेत्रको एउटै लक्ष समृद्ध समाज निर्माण भएकाले सहकार्य गरेर संगसँगै जानु पर्ने धारणा व्यक्त गरेका थिए ।
