काठमाडौं, २० साउन – उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ । गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ बजेपछि देखाइने कार्यक्रम तय भएको छ ।

गुठी संस्थानका अनुसार भोटो देखाउने कार्यक्रममा राष्ट्रपतिसहित राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने छ । भोटो देखाएपछि करिब तीन महिनादेखि जारी रथजात्रा सम्पन्न हुनेछ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ ।
यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङ्मतीमा राख्ने चलन छ । करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित रहेको मानिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म झन्डै दुई महिना चल्छ । ३२ हात अग्लो रथ बाजागाजा सहित ललितपुरका टोलहरुमा परिक्रमा गराइन्छ ।
विसं ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बी मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुआत गराएको मानिन्छ ।
