नेपाली खबरीलाल
भर्जिनिया, अमेरिका
नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सुदूरपश्चिम समाज भर्जिनियाले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११ लाख १ हजार आर्थिक सहयोग गरेको छ ।
बाढीका कारण उत्पन्न हृदयविदारक अवस्थाले आफूहरू स्तब्ध र मर्माहत भएको जनाउँदै समाजले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा विपद्का कारण घर, गाँस र बास गुमाएका नेपालीहरूको शीघ्र पुनस्र्थापनाको कामना गरिएको छ ।
आफ्नो जन्मभूमिमा आइपरेको विपत्तिमा थोरै भए पनि राहत पु¥याउने उद्देश्यले समाजको पहलमा अमेरिकी डलर ७ हजार २ सय ८९.१० तथा २०७ डलर शुल्क गरी कुल ७ हजार ४ सय ९६.१० अमेरिकी डलर बराबरको रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजले जनाएको छ । उक्त रकम नेपाली रुपैयाँमा रु. ११ लाख १ हजार रहेको छ ।
समाजले विपद्को यस कठिन घडीमा आफ्नो गाँस काटेर सहयोगको हात बढाउने सुदूरपश्चिम समाज भर्जिनियाका सम्पूर्ण सहयोगी मनहरू तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेको छ ।
समाजले जारी गरेको सन्देशमा मातृभूमिको पीडामा प्रवासमा रहेका नेपालीहरू पनि भावनात्मक रूपमा उत्तिकै जोडिएको उल्लेख गर्दै विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको जनाएको छ ।

