नेपाली खबरीलाल
ड्यालस टेक्सस
अमेरिकाको टेक्ससमा बसोबास गर्ने सुदूरपश्चिमेलीहरूले यस वर्षको गौरा पर्व उत्सवका रूपमा नमनाउने भएका छन्। मातृभूमि नेपालमा आएको विनाशकारी बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको र देश शोकमा रहेका बेला उल्लासका साथ पर्व मनाउनु उचित नहुने भन्दै सुदूरपश्चिम समाज टेक्ससले यस्तो निर्णय गरेको हो।
सुदूरपश्चिम समाज टेक्ससका अध्यक्ष गगन केसीका अनुसार हरेक वर्षझैँ यस वर्ष पनि गौरा पर्व भव्य रूपमा मनाउने तयारी गरिएको थियो। तर, नेपालमा प्राकृतिक विपत्तिका कारण ठूलो क्षति भएको अवस्थामा पर्वलाई उत्सवका रूपमा मनाउनु उपयुक्त नदेखिएकाले कार्यक्रम रद्ध गरिएको हो।
मातृभूमि नेपाल राष्ट्रिय शोकको अवस्थामा रहेका बेला हामीले उत्सवका रूपमा गौरा मनाउनु उचित देखेनौँ,” अध्यक्ष केसीले भने, “बिहीबार बसेको सुदूरपश्चिम समाज टेक्ससको बैठकले यस वर्ष गौरा पर्व सामूहिक रूपमा नमनाउने निर्णय गरेको हो।”
समाजका अनुसार गौरा पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई भने निरन्तरता दिइनेछ। पर्वका अवसरमा गरिने गौरा देवीको पूजाआजा परम्पराअनुसार गरिने भए पनि विगतका वर्षहरूमा जस्तै ठूलो जमघट तथा विभिन्न सांस्कृतिक कार्यक्रमसहित उल्लासपूर्वक सामूहिक रूपमा पर्व नमनाइने भएको छ।। साथै पाढी पहिरो पिडित र उनका परिवारलाई सहयोगार्थ शुरु भएको सहयोग संकलन अभियानमा सुदूरपश्चिम नेपाली समाजले पनि सकृय सहभागिता जनाउने निर्णय गरेको छ ।

