नेपाली खबरीलाल
ड्यालस, टेक्सस
अमेरिकामा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुई राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीचको एकीकरण टुंगो लागेको छ। गत जुलाई १६ मा भएको सहमतिअनुसार दुवै एनसीसीले एकीकरणका सबै प्रक्रिया टुंग्याएका हुन्।
जुलाई १६ मा भएको ऐतिहासिक सहमतिको जगमा टेकेर एकीकरणका सबै काम सम्पन्न भएको प्रवक्ता द्रोण गौतमले बताए। आगामी निर्वाचनसम्म दुवै एनसीसीले संयुक्त रूपमा एउटै एनसीसीमार्फत अघि बढ्ने र निर्वाचनपछि एउटै एनसीसी हुने कुरामा सबै सहमत रहेको उनले बताए।
प्रवक्ता गौतमका अनुसार एकीकरणको मर्मअनुसार एनसीसीको आर्थिक कारोबारमा दुवै पक्षको समान पहुँच रहने तथा समान रूपमा बैठक सञ्चालन गर्ने लगायतका विषय कार्यान्वयनमा आइसकेका छन्। “अब अमेरिकामा एउटा मात्र एनसीसी छ। अमेरिकामा रहेका आम गैरआवासीय नेपाली संघका सदस्य तथा शुभचिन्तकहरूले पनि यही बुझाइ राख्नुपर्छ,” उनले भने।
गत एक वर्षदेखि एउटै नामबाट सक्रिय एनसीसीको एकीकरणका विषयमा केही साथीहरूका फरक मत आउनु स्वाभाविक रहेको गौतमले बताए। “तर आम गैरआवासीय नेपालीहरूको आवाज कमजोर हुन नदिन, उनीहरूको भावना र चाहनाअनुसार दुई एनसीसी एक हुनुको विकल्प छैन,” उनले भने।
सहमतिलाई कार्यान्वयन गर्ने क्रममा गत अगस्ट ५ मा दुवै एनसीसीले संयुक्त भर्चुअल (जुम) बैठक सम्पन्न गरी बैठकको जानकारी सार्वजनिक गरेका थिए। उनीहरूले सार्वजनिक गरेको विज्ञप्तिअनुसार बैठकमा दुवै एनसीसीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। करिब दुई घण्टा चलेको उक्त बैठकको अध्यक्षता दुवै एनसीसीका अध्यक्षद्वय सतेन्द्र साह र विकास उप्रेतीले गरेका थिए भने महासचिवद्वय मोहन न्यौपाने र आरसी पन्तले बैठक सञ्चालन गरेका थिए।
बैठकमा अध्यक्षद्वयले अमेरिकामा एकीकृत एनसीसी निर्माणका लागि हालसम्म भएका पहल, विभिन्न चरणमा भएका छलफल तथा एकीकरण प्रक्रियाका बारेमा जानकारी गराएका थिए। आम गैरआवासीय नेपालीहरूको भावना र चाहनाअनुसार बाँकी विषय समाधान गरी एनआरएनए एनसीसी अमेरिकालाई एकताबद्ध बनाउने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका थिए।
एकीकरण प्रक्रियालाई सफल बनाउन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पदाधिकारी, दुवै पक्षका एनसीसी नेतृत्व, वार्ता टोली, विभिन्न समितिका सदस्य, आजीवन सदस्य, साधारण सदस्य तथा सल्लाहकारहरूले सहयोगी भूमिका निर्वाह गरेको बैठकमा उल्लेख गरिएको थियो।
बैठकमा धारणा राख्ने पदाधिकारी तथा सदस्यहरूले आम गैरआवासीय नेपालीहरूको भावना र चाहनाअनुसार एउटै एनसीसी निर्माणका लागि भएका पहलप्रति खुसी व्यक्त गर्दै एकताविरुद्ध जाने छुट कसैलाई नभएको धारणा राखेका थिए।
संयुक्त बैठकले आवश्यकताअनुसार एनआरएनए अमेरिकामा अन्तरिम समिति गठन गर्ने, संस्थागत सुशासन र पारदर्शितालाई थप मजबुत बनाउने तथा विश्वभर रहेका नेपाली समुदायको हित, अधिकार र सेवाका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

